काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यवहारिक भन्सार करलाई व्यवहारिक बनाउन वर्ग छुट्ट्याएर कर लगाएको बताएका छन्।
प्रतिनिधिसभामा २०८०, ८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले १०० किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट हुने वित्तिकै ३० प्रतिशत भन्सार लगाउनु व्यावहारिक नभएकाले पाँच वर्गमा विभाजन गरी व्यावहारिक बनाइएको जिकिर गरे । यसअघि विद्युतीय सवारी साधनलाई चार वर्गमा विभाजन गरी कर लगाइएको थियो । जसमा १०० किलोवाटसम्म १० प्रतिशत भन्सार महसुल, १०० देखि २०० किलोवाटसम्मका ३० प्रतिशत भन्सार महशुल र ३० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो।
अर्थमन्त्री महतले सरकारले लिएको आर्थिक वृद्धि र राजश्वको लक्ष्य पूरा गर्ने दाबी गरे । उनले सरकारले आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नसक्ने आधारहरु रहेको बताए। उनले सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्नेगरी आर्थिक वर्षको पहिलो दिनेदेखि काम थालनी गर्ने बताए । उनले ६ प्रतिशतको आर्थिक वृद्धि गर्न निजी क्षेत्रको महत्वपूर्ण भुमिका हुने भन्दै सरकारले गरेर मात्रै पुग्न नसक्ने बताए। उनले सरकारले बजेटमा विदेशी सहयोगमा पनि धेरै ठूलो महत्व नराखेको बताए।
अर्थमन्त्री महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताए। उनले आफ्नो उत्पादनलाई प्रोटेक्सन गर्न आयातित वस्तुमा कर लगाउनुपर्ने अवस्था भएकाले आलु प्याज पनि विदेशबाट आयात गर्ने भन्दै प्रश्न गरे। उनले सरकारले आन्तरिक उत्पादन वृद्धि गर्न आफैँ उत्पादन गरेर खानुपर्ने बताए।