भक्तपुर। धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म सार्वजनिक बस सेवा सुरु भएको छ ।
केदाननाथको शिरोभाग डोलेश्वर मन्दिरस्थित बसपार्कबाट बिहान ५ बजेदेखि काठमाडौंको रत्नपार्कसम्म सीधा सार्वजनिक बस सेवा सुरु भएको हो।
डोलेश्वरबाट जगाती, सूर्यजिनायक, कोटेश्वर, बानेश्वर, माइतीघर, सहिदगेट हुँदै रत्नपार्क रुटमा अबदेखि प्रत्येक आधा घण्टाको फरकमा डोलेश्वरबाट रत्नपार्कका लागि र रत्नपार्कबाट डोलेश्वरका लागि बस छुट्ने छ ।
सार्वजनिक बस सेवा सञ्चालनका लागि सूर्यविनायक नगरपालिका–८ कार्यालय, डोलेश्वर मन्दिर संरक्षण तथा विकास समिति र ख्वप भक्तपुर मिनिबस सेवा समितिबीच त्रिपक्षीय सम्झौता भएको हो। ख्वप भक्तपुर मिनिबस सेवा समितिले दैनिक आठ बस उक्त रुटमा सञ्चालन गर्ने छ ।
बागमती प्रदेशसभा सदस्य एवं स्थानीयवासी किरण थापाले ग्रामीण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको यस क्षेत्रमा आजदेखि सुरु भएको सार्वजनिक यातायातको सेवाबाट डोलेश्वर मन्दिर दर्शन गर्न आउने धर्मालम्बी लगायतलाई आवत जावतमा सहज हुने बताइएको छ।