काठमाडौं। निर्माण व्यवसायीले गिट्टी– वालुवा उत्पादन कार्य बन्द गर्ने चेतावनी दिएका छन् । असारको दोसो सातादेखि देशभर गिट्टी वालुवा उत्पादन कार्य बन्द गर्ने चेतावनी दिएका हुन्।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आफूहरुको समस्या र माग सुनुवाइ नभएको भन्दै उत्पादन कार्य नै बन्द गरिदिने चेतावनी दिएका छन्।
महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १६ गतेदेखि देशभर गिट्टी वालुवा उत्पादन कार्य वन्द गर्ने निर्णय भएको जानकारी दिएको हो। महासंघले सरकारले कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा वालुवा उद्योग असार १५ गतेभित्र नविकरण गर्न निर्देशन माग गरेको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सीताराम न्यौपानेले सरकारले विगत १० वर्षदेखि क्रसरका समस्या समाधानको लागि पहल गरे पनि अहिलेसम्म नभएको गुनासो गरेका छन्। उनले अवैध क्रसर उद्योग बन्द गर्ने नाममा कानुन बमोजिम सञ्चालनमा आएका उद्योग समेत बन्द गरेको बताएका छन्।
उनले मन्त्री परिषद्ले गत माघ ११ गते दर्ता भई सञ्चालनमा रहेका तर मापदण्ड लगातका कारण नविकरण हुन नसकेका क्रसर उद्योगको हकमा कानून अनुसार लाग्ने कर,दस्तुर,शुल्क लगायत राजश्व लिई २०८० असार मसान्तसम्म यथावत रुपमा सञ्चालन गर्ने निर्णय कार्यान्वयन नभएको बताए।
महासंघले कच्चा पदार्थ उत्खनन कार्यलाई क्रसर उद्योग सञ्चालनसँगै जोडेर मूल्याङ्कन गर्न नमिल्ने भन्दै उत्खनन कार्य स्थानीय सरकारमार्फत क्रसर उद्योग सञ्चालन कार्य उद्योग मन्त्रालयमार्फत व्यवस्थापन गर्ने व्यवस्था गर्न माग गरेको छ ।