ताप्लेजुङ। बाढीपहिरोका कारण ताप्लेजुङमा आजसम्म १३ वटा घरमा पूर्णरुपमा क्षति पुगेको छ । गत बिहीबारदेखि सुरु भएको वर्षासँगै गएको बाढीपहिरोका कारण हालसम्म १३ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांक छ।
सबैभन्दा बढी सिदिङ्वा गाउँपालिकामा बाढीपहिरोले क्षति गरेको समितिले जनाएको छ। समितिका अनुसार सिदिङ्वा गाउँपालिका –३ आङ्खोपमा चार घर, वडा ६ मेहेले र वडा ७ सुरुम्खिममा दुई–दुई वटा घर बाढीपहिरोले क्षतिग्रस्त बनाएको छ। यस्तै, सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा दुई, वडा ८ याम्फुदिनमा एक घर क्षतिग्रस्त भएका छन्। यसैगरी, मैवाखोला गाउँपालिका–३ र वडा ४ साँघुमा एक–एक घर बाढीपहिरोले पूर्णरुपमा क्षति पुगेको विपद् व्यवस्थापन समितिले जनाएको छ।
त्यस्तै, बाढीपहिरोमा परी हालसम्म तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएको छन् । साथै अन्य तीन जना घाइते भएको समितिले जनाएको छ । बाढीपहिरोमा परी मृत्यु हुने र बेपत्ता हुने सबै सिदिङ्वा गाउँपालिका–६ मेहेलेका रहेका छन् ।