काठमाडौं। १८ वर्षदेखि विवादित बनेको धरान उपमहानगरपालिकाको बसपार्क निर्माण अघि बढ्ने भएको छ। स्थानीयवासीसँग भएको जग्गाको विवाद उपमहानगरपालिकाले सुल्झाउने भएपछि बसपार्कको बाटो खुलेको हो। नगरपालिकाका कर्मचारीले जग्गा अधिग्रहणमा अनियमितता गरेको भन्दै स्थानीयले विरोध गर्न थालेपछि बसपार्क योजना अलपत्र परेको थियो। तर पछिल्लो समय कर्मचारीको नाममा रहेको जग्गा अधिग्रहण गर्ने निर्णय भएसँगै बसपार्क बन्ने निश्चित भएको उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी बताइन्।
धरानको बसपार्क साँघुरो भएको भन्दै धरान उपमहानगरपालिकाले २०५८ सालमा धरान–८ सुन्दरबस्तीमा सार्ने योजना ल्याएको थियो। स्थानीय बासिन्दाबीच भएको विवाद समाधान भएसँगै प्रदेश तथा संघीय सरकारको बजेटबाट बसपार्क बनाउन प्रक्रिया अघि बढाइएको भण्डारीले बताइन्।
बस्ती विकास आयोजनाको १ बिगाहा १५ कठ्ठा जग्गामा स्मार्ट बसपार्क बनाउन डीपीआर तयार भइरहेको भण्डारीले बताइन्। उक्त बसपार्क निर्माणको अनुमानित लागत ४३ करोड रुपैयाँ रहेको छ।
प्रदेश नं १ सरकारले धरानको प्रमुख आवश्यकतामध्येको उक्त बसपार्कको डीपीआर बनाएको हो। ऋषिकेश सर्भिसेस प्रालिले तयार गरेको डीपीआर प्रदेश सरकारले स्वीकृत गरिसकेको छ। लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएपछि आयोजनाको समस्या समाधान गर्दै काम अघि बढाउन भण्डारीले स्थानीयवासीसँग पटक पटक छलफल गरेकी थिइन्। उनकै पहलमा आयोजनाको काम अघि बढेको हो।
बसपार्क निर्माण अघि बढ्ने भएपछि जग्गादाताहरू उत्साहित भएका छन्। बसपार्क निर्माणमा धरान उपमहानगरपालिकाले मात्र लगानी जुटाउन समस्या हुने भएकाले प्रदेश र संघीय सरकारबाट बजेटको सुनिश्चित गर्नुपर्नेमा जग्गादाताले जोड दिए।
उक्त बसपार्कमा साना ठूला विद्युतीय बसको पनि पार्किङ स्थल रहनेछ। डीपीआर अनुसार बेसमेन्ट २०० ओटा साना गाडी र १५० ओटा मोटरसाइकल अट्ने क्षमताको हुनेछ। यस्तै, सतह (दोस्रो तला) मा ४९ ओटा बस र १५ ओटा साना गाडी राख्ने ठाउँ हुनेछ। डिजाइन अनुसार तेस्रो तला टर्निमल भवन यात्रुको प्रयोगमा आउनेछ।