काठमाडौं। सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार देखाउन आग्रह गरेको छ । विपद् प्रतिकार्यमा खटिने नाममा असामाजिक गतिविधि नगर्न सचेत गराएको छ ।
बिहीवारबाट शुरु भएको दोस्रो विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्य रोक्न जरुरी रहेको बताए।
गृहसचिव भट्टराईले विपद्मा उपस्थिति दर्ता गराउने होडबाजी बढेको भन्दै विपद्का बेलामा उपस्थिति दर्ता गराउन मात्रै विपद् स्थलमा नजान आग्रह गरे। विपद् रोकथामका कार्यमा राज्य एक्लैले मात्रै नसक्ने भन्दै सम्बन्धित निकायहरुसँग समन्वय गरी राहत र उद्धार कार्य जुट्न सबैलाई उनले आग्रह गरे।