काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा समिरमान बस्नेत र काले भन्ने अमरबहादुर रानालाई जन्मकैद तोकेको छ।
गौचनको हत्या अभियोगमा काठमाडौं जिल्ला अदालतले बुधबार बस्नेत र रानालाई जन्मकैद तोकेको हो । गौचनको हत्यामा अदालतले बस्नेत र रानालाई मुख्य योजनाकार ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो।
गौचनको २०७४ साल असोज २३ गते काठमाडौंको बानेश्वर खरीको बोट नजिकै गोली हानी हत्या भएको हो थियो । गोली प्रहार भएलगत्तै सिभिल अस्पताल पुर्याइएका गौचनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
अदालतले गौचनको हत्यामा लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष तथा धनराज योङहाङ, श्यामबहादुर गुम्बी र राजिव तामाङ भन्ने राजिव स्याङ्तानलाई जनहीँ ५ वर्ष कैदको सजाय भएको छ। माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको छ।
गौचनको हत्यामा संलग्न भएको आशंका गरिएका ७ जनाले भने सफाई पाएका छन्। अदालतले प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, शिवजी महतो, राजकुमार शाह, मुकेशकुमार पान्डे, श्याम गुप्ता र सुर्यबहादुर बाजीलाई सफाई दिइएको हो। घटनामा आरोपी भनिएका अन्य ७ जना भने फरार छन्।