काठमाडौं । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाका ठेकेदारमाथि कुटपिट भएको छ । प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन यस जलविद्युत आयोजनामा असन्तुष्ट स्थानीयले ठेकदार कम्पनीका प्रतिनिधिमाथि कुटपिट गरेका हुन् ।
कुटपिटबाट दुई विदेशी प्राविधिक घाइते भएको आयोजनाले जनाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले स्थानीयलाई काम नदिएको र स्थानीय उत्पादन नलिएको भन्दै असन्तुष्ट समूहले आयोजनास्थलमा पुगेर कुटपिट गरेको बताए ।
चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण गरिरहेको छ । आयोजनामा बारम्बार विवाद हुने गरेको थियो । यस पटक भने असन्तुष्ट युवा समूहले ठेकेदारमाथि नै कुटपिट गरेका छन् ।