काठमाडौं। प्रदेश २ का प्रत्येक ८ जिल्ला मा एक एक वटा शीतभण्डार बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ। शीतभण्डार निर्माणको सम्झौता लागत १ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ रहेको छ। सो योजना सुरु भएयता ८१ करोड रुपैयाँ बजेट विनियोजन भएको भएता पनि १ करोड मात्रै सम्बन्धित संस्थालाई भुक्तानी गरी ८० करोड फ्रिज भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी गराएको छ।
त्यसैगरी कमिसनको चलखेल गर्ने, कामै नगरी भुक्तानी माग्ने, कमसल काम गर्ने केही फर्मको क्रियाकलापका कारण योजना प्रभावित भएको मन्त्रालयका कर्मचारीहरुले बताएका छन्। आर्थिक वर्ष २०७५ ७६ मा सम्झौता भई सुरु भएको निर्माण कार्य प्रारम्भदेखि नै विवादित बनेको थियो। सरकारले पहिलो वर्ष १६ करोड, दोस्रो वर्ष ४० करोड, त्यसपछि २० करोड र चालू आर्थिक वर्ष ५ करोड बजेट सरकारले छुट्टाएको छ।