काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र नेपाल बीमक संघ (एनआईए) बीच जलविद्युत आयोजनाको प्रिमियबारे छलफल भएको छ । प्रिमयमको विवादले धेरै आयोजनाले बीमा नविकरण नगरेपछि बीमक संघका पदाधिकारीहरु इपानसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पुनर्बीमा कम्पनीले नेपाली हाइड्रोपावरको पुनर्बीमा गर्नै नमान्दा गाह्रो भएको बताए । ऊर्जा क्षेत्रको विकास होस भन्ने चाहना आफ्नो पनि रहेको तर अहिलेको प्रिमियमा बीमा गर्दा लागत पनि नउठ्ने उनको भनाइ थियो । इपान अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रले गर्ने व्यवसायमा नाफा खोज्नुपर्ने तर, कति नाफा राख्ने भन्ने कुरामा ध्यान दिनुपर्ने बताएका थिए ।
इपान वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले पुरानै प्रिमियमलाई प्रवर्द्धकले अस्विकार गरेको बेला नयाँ प्रिमियम दरलाई प्रवर्द्धकले कुनै पनि हालतमा नस्वीकार्ने बताएका थिए । इपान उपाध्यक्ष उत्तम भ्लोन लामाले ६० लाखको गाडी किनेर व्यवसाय गर्ने व्यवसायीले दुर्घटनामा मान्छे नै मारेपनि ढुक्कसँग बस्न सक्ने गरी सम्पूर्ण जोखिम बीमा कम्पनीले लिए जस्तै जलविद्युतमा पनि सबै जोखिम ट्रान्सफर गर्न चाहेको बताएका थिए ।
उनले अहिले बीमाको प्रिमियम बढाउन खोजेपनि दाबी परेपछि भुक्तानी पाउने न्युनतम वा अधिकतम समयको वारेमा किन स्पष्ट हुन नसकेको हो भनी प्रश्न गरे । यस अघि प्रति हजारको २ रुपैयाँ मात्र रहेको जलविद्युत बीमाको प्रिमियम दर अहिले ७.५ रुपैयाँसम्म बनाउने प्रस्ताव बीमा प्राधिकरणमा गरिएको नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए ।