चितवन। गत आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा तीन करोड ४५ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ ।
मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी चलाउनेलगायत ट्राफिक नियम उल्लङघन गर्ने चालकलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा ट्रक तथा टिपरका चालक सात हजार ७५, बस तथा माइक्रोबसका चालक चार हजार एक सय ९४, जीप तथा कारका चालक सात हजार सात सय १२, ट्र्याक्टर चालक एक हजार छ सय नौ, मोटरसाइकल तथा स्कुटर चालक १३ हजार एक सय सात र टेम्पो तथा अटोरिक्सालगायत सवारीसाधनका चालक छ हजार नौ सय ६७ रहेका जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
गत आवमा तीन सय तीन सवारीसाधन दुर्घटनामा परेका थिए । सो क्रममा ७८ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा एक सय ७० जना गम्भीर र चार सय ११ जना सामान्य घाइते भएको उहाँले बताउनुभयो । सबैभन्दा बढी जिल्लाका भित्री सडकमा एक सय ४१, पूर्व–पश्चिम राजमार्गमा ६४, नारायणगढ–मुग्लिन सडकखण्डमा ५७, पृथ्वी राजमार्गमा २३ र जिल्लाका सहरी सडकखण्डमा १८ सवारीसाधन दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ ।