काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले आफूहरुको माग पूरा नभएसम्म आदोलन जारी रहने बताएका छन्। अनामनगरस्थित कार्यलयबाट निस्किएको सिठ्ठी जुलुश बानेश्वरस्थित संसद भवनको अगाडि पुगेर कोणसभामा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन।
अध्यक्ष सिंहले सरकारले व्यवसायीका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन शुरु गर्नुपरेको बताए । कोणसभालाई सम्बोधन गर्दै महासंघका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराएको जानकारी दिए।
निर्माण व्यवसायी महासंघको आन्दोलनलाइ सडकमै आएर नेपाल क्रसर तथा खानी उधोग महासंघले पनि एक्यवद्धता जनाएको छ।नेपाल क्रसर तथा खानी उद्योग महासंघका अध्यक्ष सिताराम न्यौपानेले निर्माण व्यवसायीहरूको आन्दोलनको प्रभाव ढुङ्गा, गिट्टी, बालुवा लगायतका व्यवसायीहरूलाई परिसकेको भन्दै निर्माण व्यवसायीहरूको जायज मागहरू तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।
कोण सभामा आफ्नो मन्तव्य राख्दै सूदूर पूर्वको नेतृत्व गर्दै निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेत तथा सूदुर पश्चिमको नेतृत्व गर्दै निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्टले राजधानी केन्द्रीत महासंघको आन्दोलन सफल नभएसम्म घर नफर्कने प्रतिबद्धता जनाएका छन् ।