काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन अन्तर्गत सिठ्ठी जुलुश आज पनि सुरु भएको छ। निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन अन्तर्गतको आजको सिठ्ठी जुलुश सुरु भएको हो।
महासंघको कार्यालय अनमानगरबाट जुलुश बानेश्वर सम्सद भवन तर्फ अघि बढेको छ। आन्दोलनकर्ताहरुले विभिन्न मागसहितमा पम्प्लेट बोक्दै सिठ्ठी फुक्दै नारा समेत लगाइरहेका छन। हातमा कालो पट्टि बाधेका आन्दोलनकर्ताहरुले महासंघको ज्याकेट र सेफ्टी हेलमेट लगाएका छन्। महासंघको दोस्रो चरणको आन्दोलन गत सोमबारदेखी सुरु भएको हो भने भोलि शुक्रबारसम्म चल्ने छ।
अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, सरकारबाट भुक्तानी नभएसम्मको लागि चेक बाउन्स र बैंक ग्यारेण्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने मागसहित महासंघले आन्दोलन गरिरहेको हो। बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, नियोक्ताले श्रोतमा कट्टा गरेको अग्रीम आयकर र मुअकरको रकम समयमा राजस्व खातामा दाखिला , निर्माण उद्योगसँग सम्बन्धित ऐन, नियम संशोधन गरिनुपर्ने लगायतका माग महासंघको छ ।
शुक्रबार सम्म पनि आफूहरुको माग पूरा नभए आइतबारदेखि तेस्रो चरणको आन्दोलन सुरु गर्ने महासंघले जनाएको छ। साउन २८ गते सोमबारदेखि अत्यावश्यक बाहेकका सबै निर्माण कार्यहरू अनिश्चितकालका लागि बन्द गर्ने महासंघले जनाएको छ ।