काठमाडौं। आयोजनाहरुको भुक्तानी, म्याद थप, वीमा निर्देशीका खारेजी लगायतका १० बुँदे माग राख्दै आन्दोलन गरिरहेको नेपाल निर्माण व्यवसायी महासंघले आजदेखि तेस्रो चरणको आन्दोलन सुरु गर्ने भएको छ।
महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत आइतबारदेखि मंगलबारसम्म सडक र सिंचाइ विभागमा ताला लगाउने भएको हो। महासंघले आइतबारदेखि मंगलबारसम्म हरेक दिन बिहान ९ बजेदेखि १ बजेसम्म सडक विभाग, चाकुपाट ललितपुर र सिंचाइ विभाग जावलाखेल ललितपुरमा तालाबन्दी र धर्ना दिने भएको छ।
महासंघले दुइतिर एकै पटक आन्दोलन गर्ने भएकाले निर्माण व्यवसायीहरुको दुई वटा समूह विभाजन समेत गरेको छ। सडक विभागका लागि महासंघका रवि सिंहको नेतृत्वमा समूह गठन गरिएको छ भने सिंचाइ विभागका लागि महासंघका वरिष्ठ उपाध्यक्ष इ.आङ दोर्जी लामाको नेतृत्वमा समूह गठन गरिएको छ।