सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहालले सुर्खेत–हिल्सा सडक निर्माण प्राथमिकतामा रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले सोमबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आगामी चीन भ्रमणमा आफूले यसलाई प्राथमिकतामा राखेको उल्लेख गरेका हुन्।
हिल्सा सुर्खेत सडक निर्माणबारे मेरो अब हुन लागेको चीन भ्रमणमा प्राथमिकतामा पनि छ’ कार्यक्रममा उनले भने– मलाई विश्वास छ, यसपटक हामी यसमा ठूलो फड्को हान्ने छौं । अहिले यतिनै भने।’
प्रधानमन्त्री दाहालले भेरी, कर्णाली करिडोर लगायतका ठूला सडक परियोजना संघीय सरकारको प्राथमिकतामा रहेको बताए। ‘प्रदेशको मेरुदण्डका रुपमा रहेका कर्णाली, भेरी कोरिडोर, कर्णाली राजमार्ग, राप्ती लोकमार्ग लगायतका महत्वपूर्ण सडक निर्माणमा मेरो ध्यान गएको छ’ उनले भने।
प्रधानमन्त्रीले कर्णालीका कच्ची र कमजोर सडकले दुर्घटनाको जोखिम बढेकोबारे आफू जानकार रहेको धारणा व्यक्त गरे। ‘ ‘बेरोजगारी र अभावले हजारौं युवा मुग्लान पसिरहेको अनुभूति पनि छ’ उनले भने– ‘उपचार नपाउँदा गर्भवतीको अकालमा ज्यान जाने गरेको भयावह स्थिति पनि अनुभूति गरेको छु। ‘कर्णालीको अभाव, गरिवी र भूगोलमा म बसेकोे छु । कर्णालीको विकास केन्द्रको प्राथामिकतामा छ, मेरो प्रथामिकतामा छ ।’