धनगढी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन्।
धनगढीमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहालले शुरुमा गरिएको एमसीसीको सम्झौतालाई पारित गर्नुपर्ने बताएका हुन्।
आफू प्रधानमन्त्री हुँदा २९ भदौ २०७४ मा अमेरिकामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले र एमसीसीका तर्फबाट कार्यबाहक सीईओ जोनाथन नाशबीच भएको एमसीसीको सम्झौता नै पारित गर्नुपर्ने दाहाले बताए।
शुरुमा संसदबाट पारित गर्नुपर्ने गरी एमसीसी सम्झौता नभएको तर पछि ओली सरकारले त्यसलाई परिमार्जित गरेर संसदबाट पास गर्नुपर्ने नीति ल्याएपछि विवाद बढेको दाहालको भनाइ थियो।
अमेरिकी सहयोग नेपालले लिँदै आएको र एमसीसी पनि स्वीकार्नु पर्ने उनले बताए।