काठमाडौं। नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटन समारोह अवधिभर पूर्व–पश्चिम राजमार्ग बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीहरू प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
मंसिर १० गते बिहान १० बजेदेखि पश्चिम नेपालबाट आउने गाडीहरूलाई पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रमा र पूर्वबाट आउने गाडीहरूलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा रोकिने बताइएको छ । यसैगरी काठमाडौं रपोखराबाट मुग्लिन हुँदै यात्रा गर्ने गाडीहरूलाई आँपटारी र पूर्वबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र प्रवेश गर्न नदिइने बताइएको छ । पूर्वी नेपालतर्फ आउ–जाउ गर्नेहरूले भने आँपटारी–बाइपास रोड हुँदै यात्रा गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह यही मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा आयोजना हुँदैछ । यो दिन मानिसहरूको भिड व्यवस्थापन चुनौतीपूर्ण हुने भन्दै चितवन प्रशासनले सवारी साधन सञ्लनमै रोक लगाउने निर्णय गरेको हो ।
उदघाटन समारोह साँझ ५ बजेसम्मै चल्ने अनुमान छ ।त्यसैले नारायणगढको मुख्य बजार क्षेत्रभित्रको ट्राफिक व्यवस्थापन बेलुकासम्मै प्रभावित हुने अनुमान छ । त्यसैले चितवन प्रशासनले १० गतेको दिन सकेसम्म गाडी नचलाइदिन र नारायणगढ बजार क्षेत्र भएर यात्रा नगर्न अनुरोध नै गरेको छ ।