काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाएर विकास निर्माणको काम अगाडि बढाउनुपर्ने बताएका छन्। बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले विकासका लागि केही क्षेत्र निजी क्षेत्रलाई दिने तयारी भइरहेको पनि जानकारी दिए।
लगानी अभिवृद्धि गर्न सरकारले आवश्यक शुरू गरिसकेको पनि मन्त्री शर्माले दाबी गरेका छन्। निजी क्षेत्र आफ्नो स्वार्थ पूर्तिका लागि लाग्न हुदैन भन्दै देश हितमा केन्द्रित रहेर काम गर्नुपर्ने पनि उनले बताए। अर्थमन्त्री शर्माले आर्थिक पत्रकारले उठाएको अनुसन्धानले आर्थिक क्षेत्रमा ठूलो योगदान र महत्वपूर्ण भूमिका रहेको जनाए। आर्थिक पत्रकारले लेखेको लेख तथा रिपोर्टिङले अर्थ क्षेत्रमा नयाँ आयाम थप्ने र आर्थिक क्षेत्रको पुनरुत्थानका लागि सहयोग पुग्ने उनले जानकारी दिए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नाफिजले मुलुकको गतिविधिले सबै क्षेत्रमा सकारात्मक तरिकारले सम्प्रेषण गर्न सहयोग गरिरहेको जनाए। त्रिभुवन विश्वविद्यालयका केन्दीय अर्थशास्त्र विभाग प्रमुख प्रा. डा. शिवराज अधिकारीले पत्रकार सरकारको वाचडगको रुपमा भएकाले नीति नियममा प्रभावकारी कार्यान्वयन गर्नका लागि जोड दिनुपर्ने बताए।
उद्योग वाण्ज्यि महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडले गर्दा आर्थिक क्षेत्रमा चुनौती सिर्जना गरेको बताए। कोभिडले सबै क्षेत्रमा असर परेकाले सरकारले नीतिगत सुधार गर्न आवश्यक रहेको र राहत प्रदान गर्नुपर्ने कुरामा जोड दिए।
अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले कोरोनाको खोपलाई प्राथमिकता दिएको बताए। सरकारले सबै क्षेत्रलाई प्याकेजको व्यवस्था गर्नुका साथै सामाजिक सुरक्षामा पनि ध्यानमा राखेर राहत प्रदान गरेको जनाए।