काठमाडौ। कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण हुने भएको छ । भारत सरकारको सहयोगमा सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्न करिब ६ अर्ब लागतमा आइसिपी निर्माण हुने भएको हो।
कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुन लागेको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्न भारतले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को मस्यौदा नेपाललाई पठाएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।
भारतले पठाएको डिपिआरको मस्यौदा अनुसार बन्दरगाह निर्माणमा पाँच अर्ब ७२ करोड ४१ लाख रुपैयाँ लाग्ने छ ।
आगामी सन् २०२४ देखि निर्माण कार्य सुरु हुने गरी भारत सरकारले आइसिपीको डिपिआर मस्यौदा पठाएको छ। पहिलो चरणमा रोड कनेक्टिभिटी र दोस्रो चरणमा रेलवे कनेक्सन निर्माण कार्य हुने बताइएको छ।
आईसीपी निर्माण भएपछि व्यापार र लागत दुवै घट्ने बताइएको छ। वनको ४० हेक्टर क्षेत्रफल रहेको जग्गामा निर्माण हुन लागेको आइसिपीमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच, क्वारेन्टाइन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायतका अन्य पूर्वाधार रहने छन् । २२० ट्रक अट्ने पार्किङ, प्यासेन्टर टर्मिनल अफिस निर्माण हुने छ । वनको जग्गा रहेकाले एक हजार नौ सय रुख काट्नुपर्ने भएको समितिले जनाएको छ ।