हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकाले नगर क्षेत्रका २० वटा सामुदायिक विद्यालयलाई सहयोगस्वरुप आवश्यक इलेक्ट्रोनिक्स सामग्री दिएको छ। गत आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटको योजनाअनुसार उपमहानगरले २० वटा विद्यालयमा कम्प्युटर, प्रिन्टर र मल्टिमिडिया (प्रोजेक्टर) सहयोग गरेको हो।
सहयोग सामग्री उपमहानगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ र सामाजिक विकास समिति संयोजक तथा १६ नम्बरका वडाध्यक्ष रामकृष्ण कोइरालाले विद्यालयका प्रधानाध्यापकलाई मंगलबार हस्तान्तरण गरे ।
सामाग्री वितरणका क्रममा नगर प्रमुख लामाले विद्यालयको शैक्षिक गतिविधिलाई सुधार्नेतर्फ ध्यान दिन शिक्षकहरुलाई आग्रह गरिन् । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्नेतर्फ सबैले ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो । उपमहानगरले दिएको सामग्रीबाट विद्यालयको आन्तरिक व्यवस्थापनको क्षेत्रमा काम गर्न जोड उनले दिइन् ।
उपमहानगरले विद्यालयहरुलाई प्रविधिमैत्री बनाउनका लागि गरेको सहयोगबाट प्रधानाध्यापकहरु पनि उत्साहित छन् ।
उपमहानगरले आन्तरिक स्रोतको २० लाख रुपैयाँबाट ठेक्कामार्फत खरिद गरिएको सामग्री वितरण गरेको हो।