पर्सा। नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशमा विद्युत चोरी गर्ने करिब तीन हजार मानिसलाई पक्राउ गरेको छ। मधेश प्रदेशका जिल्लामा रहेको २३ वटा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले आर्थिक वर्ष २०७९–८० मा सञ्चालन गरेको विद्युत चुहावट नियन्त्रण अभियानको क्रममा दुई हजार ८४८ जनालाई पक्राउ गरी कारबाही गरेको हो।
विद्युत पोलमा सिधै हुकिङ्गगरी विद्युत प्रयोग गरिरहेको अवस्थामा अभियान टोलीले उनीहरूलाई पक्राउ गरी कारबाही गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ७९० जनालाई हुकिङ्गगरी विद्युत प्रयोग गरिरहेको अवस्थामा पक्राउ गरी कारबाही गरिएको कार्यालयले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई जरिवाना र फेरि विद्युत चोरी नगर्ने प्रतिबद्धता गराएर रिहा गर्दैआएको छ ।
अभियानको क्रममा विद्युत चोरी गर्ने मानिस पक्राउ नपर्दा प्रयोग गरिरहेको विद्युतीय सामग्री नियन्त्रणमा लिनुको साथै मिटरबाट चोरी गर्ने समेतको सङ्ख्या छ हजार ८४८ रहेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय मधेश प्रदेश जनकपुरधामले जनाएको छ । यो सङ्ख्या अघिल्लो वर्ष छ हजार ९६७ रहेको थियो ।
प्रदेशभर विद्युत चुहावट नियन्त्रण गरी कारबाही गर्दा ५४ लाख ९४ हजार २७६ युनिट उठेको छ । जुन अघिल्लो वर्षको तुलना नौ लाख २६ हजार ४९९ युनिट बढी हो ।