काठमाडौं। राणाकालीन समयमा बनेको करिब दुई सय वर्ष पुरानो संसद् (ग्यालरी बैठक) भवन पुनर्निर्माणका लागि कात्तिक भित्र टेण्डर खोल्ने तयारी भएको छ ।
२०७२ सालको भूकम्पले क्षतविक्षत बनाएको सिंहदरबारभित्र रहेको ग्यालरी बैठकलाई पुनर्निर्माण गर्नका लागि टेण्डर खुलाउने प्रक्रिया थलिएको शहरी विकास तथा भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख मचाकाजी महर्जनका अनुसार उक्त भवनभित्र रहेका पुराना ऐतिहासिक सामान हटाएर नाँपजाँच गर्ने काम सकिएको छ । अब कात्तिकभित्र टेण्डर खेलेर यसको पुनर्निर्माण गरिने उनको भनाइ छ । उनले भने,“भवनभित्र रहेका पुराना ऐतिहासिक सामान हटाएर नाँपजाँचको काम सकिएको छ । अब कात्तिकभित्र टेण्डर गरेर ठेक्का प्रक्रियामा जानेछौँ।” भवनलाई पुनर्निर्माण गर्दा पहिले बिग्रिएको भागलाई मर्मत गरेर अन्य भागलाई मर्मत गर्दै जाने उनले बताए।
यही संसद् भवनमा भारदारी सभा पनि बसेको थियो। त्यसपछि संविधान सभाको पहिलो निर्वाचनसम्मका सबै संसद् बैठक यही भवनमा बसेको थियो। संविधान सभामा ६०१ सांसद भएपछि ठाउँ साँघुरो भएका कारण २०६५ सालदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बस्न थालेको हो । हालसम्म पनि सङ्घीय संसद् बैठक बानेश्वरमै बस्दैआएको छ । गोरखापत्रबाट