कैलाली। आगामी असोज महिनामा धनगढीमा निर्माण सामग्री प्रदर्शनी मेला हुने भएको छ। कैलाली हार्डवेयर व्यवसायी संघले आगामी असोज १० देखि १४ सम्म धनगढीको चटकपुरमा निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी मेलाको आयोजना गर्ने भएको हो।
हार्डवेयर संघले मंगलबार पत्रकार सम्मेलन गरेर प्रदर्शनी मेलाको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिएको छ।
संघका अध्यक्ष कुवेरबहादुर शाहीले प्रदर्शनी मेलामा सम्पूर्ण निर्माण तथा हार्डवेयर सामग्री एउटै छानामुनि अवलोकन गर्न पाइने जानकारी दिए। निर्माण सामग्री तथा हार्डवेयर कम्पनीका ५० वटाभन्दा बढी व्यावसायिक स्टलहरू मेलामा रहने छन्। प्रदर्शनी मेलामा नयाँ प्रविधि, उपकरण तथा मेसिनरी सामानहरूको अवलोकन गर्ने तथा जानकारी लिन सकिने संघले जनाएको छ।
नयाँ निर्माण गर्ने योजना बनाएकाहरूले विज्ञहरूबाट आवश्यक जानकारी र परामर्श लिन सकिने व्यवस्था समेत गरिने अध्यक्ष शाहीले बताए। उनले ग्राहकले सामानको गुणस्तर र मूल्यको तुलना गरेर आफूले बनाउन लागेको संरचनाका लागि उत्कृष्ट सामग्री छनोटबारे प्रदर्शनी मेलाबाट जानकारी पाउन सक्ने जानकारी दिए। सीमित क्षेत्रफलमा कसरी आकर्षक घर निर्माण गर्ने तथा भूकम्प प्रतिरोधी घर निर्माणबारे इन्जिनियरबाट जानकारी दिने र वास्तुविज्ञबाट निःशुल्क परामर्श दिने व्यवस्थासमेत मेलामा गरिने उनले बताए ।
प्रदर्शनी मेलामा निर्माण तथा हार्डवेयर सामग्री खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संघले जनाएको छ। स्वदेशी तथा विदेशी ब्रान्डका कम्पनीले आफ्ना उत्पादनबारे ग्राहकलाई जानकारी दिन मेलालाई महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सक्ने संघको भनाइ छ।