दोलखा। भीमेश्वर नगरपालिकाको चरीकोटमा रंगशाला र कभड हल निर्माण कार्यले गति लिएको छ। भीमेश्वर–३ चरीकोटमा नगरपालिकाको लगानीमा रंगशाला र कभड हल निर्माण धमाधम भइरहेको हो ।
जिल्लाकै प्रमुख खेलमैदानको रूपमा विकास हुँदै गरेको सदरमुकाम चरीकोटको टुँडिखेल खेलमैदानको स्तरोन्नति अहिले जारी छ भने सोही वडाको अर्को महत्वपूर्ण योजना कभड हलको पनि निर्माण भइरहेको छ।
नगरपालिकाले गत वर्षदेखि पुरानो टुँडिखेल खेलमैदानलाई व्यवस्थित र अत्याधुनिक बनाउन आरसीसी प्यारापिटसहितको रंगशाला निर्माण गर्न सुरु गरेको थियो । राष्ट्रियस्तरका खेल खेलाउन सक्ने हिसाबले २०७७ साल साउनबाट खेलमैदानको स्तरोन्नति गर्न सुरु गरिएको हो ।
खेल मैदानको स्तरोन्नति गर्न पहिलो चरणमा ११ करोड १५ लाख ७७ हजार चार सय ५२ रूपैयाँमा किराँतेश्वर–सिमपानी जेभीलाई निर्माणको जिम्मा दिएको भीमेश्वर नगरपालिका मेयर भरतबहादुर केसीले जानकारी दिए ।
खेलमैदानको लम्बाइ एक सय १० मिटर रहेको छ भने, चौडाइ ६५ मिटर रहनेछ । त्यस्तै चारवटा पक्की आरसीसी बल्क निर्माण गरिने भीनपा वडा नम्बर–३ का वडा अध्यक्ष हरिशरण शिवाकोटीले बताए । खेलमैदानको तल्लो साइटमा निर्माण हुने दुई तलाको भवनमा पहिलो तलाको ढलान सकिएर दोस्रो तलाको ढलान गर्ने तयारी गरिएको छ ।