पोखरा। फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको छ । प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाएका हुन् । रोहवरमा सम्बन्धित वडाका वडा अध्यक्षहरू दिवसमान प्रधानाङ्ग–२, देवकृष्ण पराजुली–४, विष्णु प्रसाद बराल–५, विष्णु बहादुर भट्टराई–६, राममोहन आचार्य–७, रुद्रनाथ बराल–८, राधिका कुमारी शाही योगी–१७ र शिवप्रसाद तिमिल्सीना–१८ रहेका छन्।
प्रतिवेदन बुझ्दै प्रमुख आचार्यले फिर्केखोलाका सम्बन्धमा प्राविधिक नापजाँच सहितको एक महत्वपूर्ण दस्तावेज तयार भएको बताए। “यो प्रतिवेदनले खोलाघर माथीको अवस्था देखाइदिएको छ, यसको कार्यान्वयनका सम्बन्धमा महानगरपालिकाको कार्यपालिकामा आवश्यक छलफल गरि उपयुक्त निर्णय गर्नेछौँ, प्रमुख आचार्यले भने, सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरि यसमाथीका संरचनाहरु हटाइनेछ ।” दिगो पर्यटन विकास परियोजना अन्तरगत यसको संरक्षण, सम्बद्र्धन र विशेष सौन्दर्यीकरणको उद्देश्य सहित फिर्के कोरिडोरको विकास कार्यक्रम सञ्चालन गरिने उनले बताए।