स्याङ्जा। जिल्लाको वालिङ नगरपालिकामा १२ करोड भन्दाबढी लागतमा बसपार्क निर्माण गरिने भएको छ। वालिङ नगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर पालिकामा व्यवस्थित बसपार्क निर्माण गर्ने भएको हो।
कोषको सहरी पूर्वाधार विकास आयोजनाअन्तर्गत नगर विकास कोषको ऋण तथा अनुदानमा वालिङ बसपार्क आयोजना निर्माण गर्न नगरपालिकाले कोषसँग सम्झौता गरेको छ।
बसपार्क आयोजना निर्माणका लागि ऋण सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र वालिङ नगरपालिका नगरप्रमुख कृष्ण खाणले हस्ताक्षर गरेका छन् ।
१२ करोड २७ लाख ५७ हजार रुपैँया लागत बसपार्क निर्माणको लागि लाग्ने अनुमान गरिएको छ । अनुमानित लागतको ५५ प्रतिशत अर्थात् ६ करोड ७५ लाख ७५ १६ हजार ३५० रुपैयाँ ऋण र १० प्रतिशत अर्थात् १ करोड २२ लाख ७५ हजार ७०० रुपैयाँको अनुदान नगर विकास कोषले उपलब्ध गराउने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । यस्तै, वालिङ बसपार्क आयोजना निर्माणको कुल अनुमानित लागतको ३५ प्रतिशत अर्थात् ४ करोड २९ लाख ६४ हजार ९५० रुपैयाँ रकम नगरपालिकाले बेहोर्ने छ ।
वालिङ नगरपालिकाको वडा–८ मा करिब ३० रोपनी क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका जिल्लाबाट आवतजावत गरिने सवारी साधनको व्यवस्थापनका लागि महत्वपूर्ण आयोजनाको रुपमा मानिएको छ ।