उदयपुर। उदयपुरको कटारी–८ स्थित आहालेको खानीबाट सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट प्रा.लि.ले चार महिनापछि चुनढुङ्गा ढुवानी गर्ने भएको छ । कटारी नगरपालिकाको ४, ५, र ७ नं. वडाका सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीयले आफ्ना माग सुनुवाइ नगरेको भन्दै उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिपर सञ्चालन गर्न दिएका थिएनन् ।
लामो समयको अवरोधपछि कटारी नगरपालिकामा बसेको दुई पक्षीय छलफलपश्चात टिपर सञ्चालनको तयारी गरिएको नगरपालिकाले जनाएको छ। वन समूह र स्थानीयसँग विभिन्न स्थानमा बसेर वार्ता गरी सञ्चालन गर्ने तयारी भएको छ, दुई पक्षका साथै सरोकारवालाको भेलाले माग क्रमशः पूरा गर्दै खानी सञ्चालन गर्न दिने तयारी हुँदै गरेको नगरपालिकाले जनाएको छ।
उद्योग सञ्चालका लागि स्थानीयवासी स्थानीयस्तरमै छलफल गर्न तयार भएका छन् । स्थानीय वडा र टोल साथै वन समूह नगरपालिकाको समन्वयमा छलफलमा बसी खानी सञ्चालन गर्न दिन तयार भएका हुन् ।