काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध भएको बताएका छन्।
माओवादी केन्द्रको महाभारत गाउँपालिका कमिटीको प्रथम गाउँपालिका सम्मेलनलाई फोनमार्फत सम्बोधन गर्दै अध्यक्ष दाहालले आफू र आफू नेतृत्वको पार्टी यस क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका हुन्।
अध्यक्ष दाहाले महाभारत क्षेत्रको जनताको विकासको चाहना र आकांक्षलाई पूरा गर्ने सवालमा आफू निकै प्रयासरत रहेको बताए।
आफ्नो पहलमा जिल्ला सदरमुकामदेखि गाउँपालिका केन्द्रसम्म जोड्ने पक्की सडक निर्माण गर्नका लागि रू ५० करोड विनियोजन भइसकेकामा त्यसलाई पूर्णता दिन थप पहल गरिने उल्लेख गरे । उनले त्यही बेला पहल खोजिएको विद्युतीकरणको केन्द्रीय प्रसारण लाइनको काम अहिले तीव्र गतिमा अगाडि बढेको र त्यसलाई पनि पूर्णता दिन आफ्नो प्रयास केन्द्रित रहने बताए।
कोखाजोर खोलाको जलविद्युत् आयोजनाका लागि प्रक्रिया अगाडि बढिरहेकाले यसमा आवश्यक सहयोगका लागि र पिन्थलीदेखि घर्तीछाप हुँदै मकवानपुरको फापरबारी जोड्ने सडकलाई राष्ट्रियरुपमा स्तरोन्नतिका लागि सम्बन्धित निकायमा कुरा गरेर अघि बढाइने अध्यक्ष दाहालले जानकारी दिए ।