काठमाडौं। मनसुन बाहिरिन ढिला हुँदा देशका अधिकांश भूभागमा अहिले वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै, आज राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।