ओखलढुङ्गा। सिद्धिचरण नगरपालिकाले एक वडा एक खेलमैदान निर्माण गर्ने भएको छ। नगरपालिकाले एक वडा एक खेलकुद मैदान बनाउने लक्ष्य लिएको पालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख फणिन्द्रबहादुर कटवालले जानकारी दिएका हुन्।
उनले भने, ‘गत वर्ष केही वडामा खेलमैदान बनायौँ । बाँकी वडामा यस वर्ष बनाउने कार्यक्रम छ।’
खेलकुद र खेलाडी उत्पादनमा जोड दिने कार्यक्रमलाई नीतिगत रुपमा पहल गरी काम थालेको छ । नगरपालिकाले खेलाडी उत्पादनका लागि समय समयमा खेलकुद प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।
विद्यालयस्तरबाटै विद्यार्थीलाई खेलकुदमा प्रोत्साहन गर्न राष्ट्रपति रनिङ शिल्ड, अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेको प्रमुख कटवालले बताए । नगरपालिकाले नरस्तरीय खेलकुद कार्यक्रम सञ्चालन गरेर खेलकुदलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।