काठमाडौं। काठमाडौं महानगरपालिकाले नगरवासीलाई रगत निःशुल्क उपलब्ध गराउने भएको छ। महानगरपालिकाले रगत निःशुल्क उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको हो।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा हिजो कामपाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सो सम्झौता पत्रमा हस्ताक्षर गरेकाछन्।
यसअघि एम्बुलेन्स सेवा निःशुल्क सञ्चालन भइसकेको उल्लेख गर्दै प्रमुख साहले स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराउन सम्झौता गरिएको बताए।
उपप्रमुख सुनिता डङ्गोलले अब रगतका लागि सहज हुने बताए कामपाका जनस्वास्थ्य विभाग प्रमुख पौडेलका अनुसार उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ। यसका लागि प्रति युनिट एक हजार ६० र क्रस म्याच गराउनु परे थप दुईसय उपलब्ध गराइनेछ।
सेवा लिनका लागि कामपाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ। नागरिकता, मतदाता परिचयपत्र, बसाइसराइको प्रमाणपत्र, जन्म दर्ता, विवाह दर्ता प्रमाणपत्रमध्ये कुनै एउटा पेश गर्नुपर्ने छ।