काठमाडौं। बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ।
यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ। मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण पर्सी सोमबारदेखि बुधबारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ।
आइतबार रातिदेखि पश्चिम वायुको एक प्रणाली आउने भएकाले छिटफुटदेखि हल्का वर्षाको सम्भवना रहेकाले तत्काल धान नकाट्न र काटेको भएमा भोलिसम्ममा भित्र्याइ सक्न मौसमविद्ले अनुरोध गरेका छन्।
पूर्वबाट मनसुन बाहिरन अझै केही दिन लाग्ने भएकाले बुधबार पछिबाट मात्रै मौसममा सुधार हुने बताइएको छ। नेपालको पूर्वी भूभागमा मात्रै मनसुनी वायुको आंशिक प्रभाव कायम छ।
सामान्यतया अक्टोबर २ तारिखमा नेपालबाट मनसुन बाहिरी सक्नुपर्ने भए पनि आज अक्टोबर १४ तारिख भइसक्दा मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिसकेको छैन।