बेनी। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको भवन पुनर्निर्माण गरिएको छ। सरकारी निकायको अनुदानभन्दा बढी चन्दा जुटाएर भवन पुनर्निर्माण गरिएको हो।
विसं २०७२ देखि विद्यालय भवन पुनर्निर्माण अभियान सुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले २२ कोठे दुई तले विद्यालय भवन तयार भएको छ।
विद्यालय भवनसँगै प्रवेशद्वार, खेलमैदान र प्याराफिट निर्माणसहित विद्यालयलाई घेरावारसमेत गरिएको व्यवस्थापन समितिले जनाएको छ।
करिब तीन करोड ५० लाख रुपैयाँ खर्च भएपनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, संघसंस्था र सरकारी तवरबाट तीन करोड २३ लाख ५५ हजार रुपैयाँ मात्रै सहयोग जुटेको बताइएको छ।
भवन बनाउने अभियानमा नगद पाँच सयदेखि १० लाखसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ ।