तनहुँ। बन्दीपुरमा १७ तले ‘‘क्वीन टावर’ नाम दिइएको पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा निर्माणधीन उक्त होटल सम्पन्न भइसकेको छ । होटलमा रङगरोगन र फिनिसिङलगायत काम अन्तिम चरणमा रहेको बन्दीपुर केबलकार एण्ड टुरिजमले जनाएको छ । करिब ९० कोठा रहेको हिलटपमा ७८ कोठा प्रयोगमा ल्याइने छ ।
सेमिनारलगायत अन्य कामका लागि एक हजार बढी क्षमताको ठूलो सभाहलसमेत निर्माण गरिएको छ । होटलको सुरु तलाबाट सत्र तलासम्म क्यापसुल लिफ्टबाट सिधैँ ‘क्वीन टावर’सम्म जान सकिने व्यवस्था गरिएको बताइएको छ।
जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरिएको छ । एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलकोन गर्दै उक्त केबलकारबाट पर्यटकले यात्रा गर्न सक्नेछन् ।