पटिहानी। चुरे पहाडको फेदीबाट बगेर आउने राप्ती नदीको संरक्षणको लागि मंसिर १ गते राप्ती नदी संरक्षण दिवस मनाईने तयारी थालिएकोछ।
राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवनले संरक्षण सम्बद्ध सबै निकाय र स्थानीय तह सँग समन्वय गरी दिवस मनाउन तयारी थालेको हो।
चितवन राष्ट्रिय निकुञ्जभित्रका तालतलैया तथा सिमसार क्षेत्रहरूको पानीको मुख्य स्रोत राप्ती नदीको संरक्षण र सरसफाई अभियानको प्रेरणाको लागि यो दिवस मनाउन लागिएको बताइएको छ।
राप्ती नदी संरक्षण दिवसको अवसरमा नदी अधिकारको बारेमा छलफल हुने र वर्ष भरि सञ्चालन गरिएका सरसफाई कार्यक्रमका बारेमा प्रस्तुति साथै आगामी दिनमा निकुञ्ज,नदी, वन र तालतलैयामा हुने प्रदुषणका विरुद्ध लड्न अभियानको दायरा बढाउने बारे छलफल गरिने छ।
आफ्नो वरपरका क्षेत्रमा बढेको फोहोरले संरक्षणमा असर गरेपछि सफाइ अभियान चलेको थियो।अभियानले नियमितरुपमा यस क्षेत्रका वन, खोला, तटीय क्षेत्रदेखि गाउँको सरसफाइ गर्दै आएको छ ।