काठमाडौं। नेपाल विद्युत प्राधिकरणले कास्की जिल्ला कारागारको विद्युत लाइन काटेको छ। विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रले आइतबार लामो समयदेखि विद्युत महसुल तिर्न अटेर गर्ने जिल्ला कारागारको विद्युत लाइन काटेर कारबाही गरेको हो ।
जिल्ला कारागारले वितरण केन्द्रलाई १९ लाख ८७ हजार ४८५ रुपैयाँ बराबरको विद्युत महसुल तिर्न बाँकी छ। पटक–पटक ताकेता गर्दा पनि महसुल तिर्न नआएपछि विद्युत लाइन काटेर जिल्ला कारागारमाथि कारबाही गरिएको पोखरा वितरण केन्द्रले जनाएको छ।
जिल्ला कारागार कार्यालयले जेल, कारागार कार्यालय र कारागार कार्यालय कास्की गरी ३ वटा नामबाट विद्युत सेवा लिँदै आएकोमा महसुल नतिरेपछि सबै लाइन काटिएको छ। जिल्ला कारागारले ३ वटै नामबाट २०।२० केभीएको विद्युत लोड लिँदै आएको थियो ।
पटक पटक जानकारी गराउँदा पनि महसुल नबुझाएपछि विनियमावलीमा भएको व्यवस्था बमोजिम विद्युत लाइन काटीएको बताइएको छ। कारागारले जरिवानासहितको महसुल बुझाएपछि मात्रै अब लाइन जोडिने भएको छ।