जाजरकोट। जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प गएपछि निरन्तर साना ठूला पराकम्पन गइरहेकाले पराकम्पनको वास्तविक तथ्य लिने गरी यन्त्र जडान गरिएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले अहिलेसम्म देशका विभिन्न स्थानमा रहेका ४२ वटा यन्त्रबाट भूकम्पको तथ्य सङ्कलन गरेर केन्द्रले भूकम्प गएको सूचना दिने गरेको बताए । पछिल्लो समय पश्चिम नेपालमा निरन्तर भूकम्प जाने क्रम जारी रहेको बेला यहाँको थप जानकारी तथ्यपरक रूपमा लिन यस यन्त्रले सघाउने उनको भनाइ छ।
रुकुम र दैलेखमा यसअघि नै यन्त्र जडान गरिएका छन् तर उत्तरतिर हुम्ला, जुम्ला, मुगु र रुकुमसम्मको स्थान खाली छ । त्यसैले पनि यहाँ सिस्मोमिटर जडान गर्नु परेको जनाइएको छ । स्टेसनहरू वरिपरि छन् र बिचमा भूकम्प गयो भने सबैभन्दा वास्तविक तथ्याङ्क आउँछ ।