सुर्खेत। जाजरकोट भूकम्पलाई मध्यनजर गर्दै विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग राखिएको छ। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालयको बुधबार बसेको बैठकले सम्भावित विनाशकारी भूकम्पको उच्च जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण नागरिकका लागि विपद् जोखिम आवास बीमा तथा प्राकृतिक विपद् जोखिम सामूहिक दुर्घटना बीमा गर्न सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको हो।
माओवादी केन्द्रको प्रदेश तथा जिल्ला इञ्चार्ज, केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्षसहित बुधबार प्रदेश सचिवालयको बैठक बसेको थियो। बैठकले कात्तिक १७ गते राति ११:४७ बजे जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट प्रभावित जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा, विपद् व्यवस्थापन विशेष कार्ययोजना निर्माण, साधन स्रोत र जनशक्तिको उचित परिचालन गरी तत्काल पुनःस्थापना गर्न सचिवालय तीनै तहका सरकारलाई अनुरोध गरेको छ।
त्यसैगरी भूकम्पबाट ध्वस्त सबै संरचनाको पुनःनिर्माणका लागि एउटा सवल पुनःनिर्माण प्राधिकरण गठनको समेत माग गरेको छ।
यस्तै, उद्धार, राहत, अस्थायी बसोबास, खाना, लत्ताकपडा, उपचार र क्षतिको विवरण संकलन तथा पीडितलक्षित मनोपरामर्शका लागि पूर्ण क्षति भएका वडामा केन्द्रीय तथा प्रदेश समिति सदस्यको नेतृत्वमा टोली परिचालन गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिइएको छ।