काभ्रेपलाञ्चोक। विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने भएको छ । आउँदो डिसेम्बर १–३ अर्थात् मङ्सिर १५ देखि १७ गतेसम्म धुलिखेल सामुदायिक अस्पतालमा सम्मेलनको आयोजना गरिने भएको हो ।
सम्मेलनमा विभिन्न मुलुकका विपद्का विशेषज्ञ सहभागी हुने र तीन दिनसम्म विश्वका विभिन्न मुलुकमा भएका विपद् पूर्वतयारीका विषयमा बृहत् छलफल हुने जनाइएको छ ।
छलफलपछि विपद् पूर्वतयारी तथा व्यवस्थापनका नयाँ विधि एवं तरिका धुलिखेललगायत नेपालका अन्य अस्पतालमा अपनाइने सम्मेलनको पूर्वतयारीस्वरुप अस्पतालमा भएको सरोकारवालासँगको छलफलमा आयोजक समितिले जनाएको छ।
प्रकोप, त्यसको असर तथा आघात, आपत्कालीन उद्धार तथा त्यसको सञ्चार, प्रकोपमा हेरचाहको बिन्दु अर्थात् विभिन्न तयारी, अन्तर विभाग, अन्तर अस्पताल र सञ्चार समन्वयबारे बृहत् छलफल हुनेछ ।