म्याग्दी। मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी साता सञ्चालनमा आउने भएको छ। चिनियाँ पक्षबाट कात्तिक २७ गते नाका सञ्चालनमा आउने जानकारी आएसँगै स्थानीयमा खुशीयाली छाएको छ।
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन्। कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो। त्यसअघिका वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो।
नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएको छ।