पोखरा। गण्डकी प्रदेश राजधानी पोखरामा नमुना रक्त सञ्चार केन्द्र भवन निर्माण भएको छ । सरकारी, गैरसरकारी तथा स्वदेश एवं विदेशबाट विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगबाट करिब आठ करोड लागतमा उक्त भवन निर्माण भएको हो।
भवन देशकै नमुना र अत्याधुनिक एवं सुविधा सम्पन्न अपांगमैत्री रहेको उक्त भवनबाट बी ग्रेडको सेवा सुविधा दिने गरी हाल भुइँतलासहितको चार तले भवन निर्माण भएको बताइएको छ। सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई कास्कीको प्राविधिक सहयोगमा २०७६ फागुन १२ गते दुई वर्षमा निर्माण कार्यसम्पन्न गर्ने गरी सिद्धार्थ कन्स्ट्रक्सन प्रालि काठमाडौंले जिम्मा लिए पनि कोरोनाका कारण करिब डेढ वर्ष ढिलो गरी सम्पन्न गरेको हो ।
भ्याट र कन्टिन्जेन्सीसहित आठ करोड दुई लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो।