सिमकोट। सिमकोट गाउँपालिका–७ को चौगानफयाको कर्णाली माध्यमिक विद्यालयमा भूकम्पप्रतिरोधी भवन निर्माण भएको छ। आधार विकास नेपालको आर्थिक सहयोगमा कर्णाली माविमा नयाँ र भूकम्पप्रतिरोधी भवन निर्माण भई सञ्चालनमा ल्याइएको हो।
गुणस्तरीय, ठूला कोठा र भुइँ सिमेन्ट ढलान गरिएकाले कक्षा कोठा धुलोबाट समेत मुक्त भएपछि अध्ययन र अध्यापन कार्य सहज भएको छ। भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने आधार विकास नेपालका हुम्ला जिल्लामा शिक्षा क्षेत्र हेर्ने अधिकृत कन्जोक लामाले काठमाडौंको निर्माण नेपालले माटोको परीक्षण गर्दा राम्रो देखिएपछि इन्टर लिंक इँटा निर्माण स्थलमै तयार पारी भवन निर्माण गरिएको जानकारी दिए।
भवन निर्माणका लागि कोरोनाका कारण तीन वर्ष लागेको बताउँदै उनले भूकम्पप्रतिरोधी र जिल्लामै पहिलो नमुना भवन निर्माण भएर सञ्चालनमा आएको बताए।