काठमाडौं। सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले तीन वटा निर्माण कम्पनीलाई अन्तिम पटक स्पष्टिकरण मागेको छ। विभिन्न स्थानका स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई १५ दिनको अल्टिमेटम दिएको हो।
स्पष्टिकरण मागिएका निर्माण कम्पनीमा तेह्रथुमको थोक्लुङ स्वास्थ्य चौकी भवन निर्माण र तेह्रथुमकै ईसिबु स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा पाएको निलगिरी निर्माण सेवा प्रा.लि र भोजपुरको सानोदुम्बा र पावला स्वास्थ्य चौकी भवन पुननिर्माणको जिम्मा पाएको सुर्या/रबिन जेभि रहेका छन्।
कार्यालयले १५ दिनभित्र सम्झौता बमोजिमको निर्माण कार्य सुचारी गरी तत्काल काम सम्पन्न गर्न सक्ने विश्वसनिय आधारसहित कार्यालयमा उपस्थित भएर स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ। काम सुरु गरेर विश्वसनिय स्पष्टिकरण नआए यी तीन वटै निर्माण कम्पनीसँग ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ।
सम्झौता बमोजिम योजनाहरुको पटक पटक म्याद थप गरी निर्माण व्यवसायीलाई लिखित र मौखिक निर्देशन मार्फत आग्रह गर्दा समेत निर्माण कार्य पूरा गर्नेतर्फ चासो नदेखाएपछि यो सूचना निकाल्नु परेको कार्यालयले जनाएको छ।