झापा। झापा जिल्लाको गौरादह नगरपालिका–१ मा कर्णबहादुर कटुवालले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा मन्दिर र विश्रामस्थल निर्माण गरेका छन्। धार्मिक तथा सामाजिक व्यक्तित्व कटुवालले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा गौरादह–१ र कमल–१ को सिमानामा पर्ने माथ्लो किस्नी घाटमा मन्दिरसहित मलामी विश्रामस्थल घर निर्माण गरेका हुन्।
उनले २१ लाखको लागतमा गोपेश्वर महादेवको मन्दिर र दुई सय बढी मानिस अट्नसक्ने क्षमता भएको मलामी विश्रामस्थलको संरचना बनाएर स्थानीय सरकारलाई हस्तान्तरण गरेका छन्। मन्दिरसहितको नवनिर्मित विश्रामस्थलको कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन्।
दाता परिवारले ती संरचनाको स्वामित्व माथिल्लो किस्नीघाट संरक्षणको जिम्मेवारी प्राप्त गौरादह–१ नम्बर वडाध्यक्ष नगेन्द्र भण्डारीलाई हस्तान्तरण गरेका छन् । त्यस्तै कार्यक्रममा दानवीर कर्णबहादुर कटुवाललाई सम्मानसमेत गरिएको छ।