काठमाडौं। आज बिहान देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई-स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा दिउँसो हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राती देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको पनि दैनिक मौसम बुलेटिनमार्फत जानकारी दिइएको छ।