काठमाडौं। नेपालमा सिमेन्ट र सिमेन्ट उद्योगका लागि चाहिने मुख्य कच्चा पदार्थ क्लिंकर आयातमा उच्च गिरावट आएको छ ।
देशमा ठूला उद्योग स्थापना तथा विकास–निर्माणका कामले गति लिन नसकेका कारण तयारी सिमेन्ट तथा क्लिंकर आयातमा गिरावट आएको हो।
नेपाल राष्ट्र बैंक र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको छुट्टाछुट्टै तथ्यांकले सिमेन्ट र क्लिंकर आयातमा गिरावट आएको देखाएको हो ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सिमेन्ट आयात ८३.६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्ममा १ अर्ब ५१ करोड रुपैयाँ बराबरको सिमेन्ट आयात भएकोमा चालू आवको सोही अवधिमा २४ करोड ८५ लाखको मात्र आयात भएको छ । आव २०७६/०७७ को पहिलो तीन महिनामा भने १ अर्ब २७ करोडको सिमेन्ट आयात भएको थियो ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको पहिलो तीन महिनामा क्लिंकर आयात ५३.१ प्रतिशतले घटेको छ।
अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्ममा ३२ करोड ३५ लाख रुपैयाँ मूल्य बराबरको क्लिंकर आयात भएकोमा चालू आवको सोही अवधिमा १५ करोड १६ लाख रुपैयाँ मात्रैको क्लिंकर आयात भएको छ। आव २०७६/०७७ मा भने ३ अर्ब ६० करोड रुपैयाँ बराबरको क्लिंकर आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।