काठमाडौं। शिवम् सिमेन्टमा करिब ८५ प्रतिशत हिस्सा रहेको शिवम् होल्डिङ्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ।
जारी पुँजी ५ अर्ब ८० करोडको २० प्रतिशत बराबर हुने १०० रुपैयाँका दरको १ करोड १६ लाख कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो।
शिवम् होल्डिङ्स लिमिटेडका संचालक अध्यक्ष शिवरतन शारडाको उपस्थितिमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेको छ।
सम्झौता अनुसार कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पुँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउँदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ।
शिवम् होल्डिङ्स लिमिटेडको अधिकृत तथा जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँमध्ये संस्थापक तर्फ ८० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड रुपैयाँ र सर्वसाधारण तर्फ १ अर्ब १६ करोड रुपैयाँ सेयर पुँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो।