मोरङ। उर्लाबारी नगरपालिकाले पालिका क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरेको छ । गत भदौ ३१ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार सिसिटिभी क्यामेरा जडान गरेको हो ।
नगरपालिका क्षेत्रमा सवारी चापका कारण बढ्दै गइरहेको दुर्घटनाको न्यूनीकरण र आपराधिक गतिविधि नियन्त्रणका लागि सिसिटिभी क्यामेरा जडान गरेको नगरपालिकाले जनाएको छ। नयाँ मंगलबारे सुनझोडा खोलाको पुल पूर्वतर्फ, बरगाछी चौक, नयाँ बसपार्क, बक्राहा खोला पुल पूर्वतर्फ र राधिका मावि उत्तर उर्लाबारी–मधुमल्ला रोडमा सिसिटिभी जडान गरिरहेको छ ।
मुख्य सडक क्षेत्रमा जडान गरिए पनि सबै क्षेत्रमा सिसिटिभी जडान गर्न नसकिएको पालिकाले जनाएको छ । उर्लाबारी, आइतबारे, मंगलबारे, दुर्गा पुरी जस्ता मुख्य बजार क्षेत्रमा पनि सिसिटिभी क्यामेरा जडान गर्ने योजना रहेको बताइएको छ।