काठमाडौं। नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम अलपत्र परेको बताएका छन् । उनले सरकारी निकायहरूबीचको समन्वय अभावमा विद्युत वितरण प्रणाली सुधार गर्न निर्माण थालिएको ठूलो र महत्त्वपूर्ण आयोजना बेवारिस अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।
सडक विभागले आफ्नो अधिनमा रहेको सडक खन्न अनुमति नदिएपछि विद्युत् वितरण प्रणाली भूमिगत बनाउने आयोजनाको काम गत असारबाट ठप्प छ । ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा जडान गरिएका स्मार्ट सडक बत्ती उद्घाटन गर्न ललितपुरमा गरिएको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले तार भूमिगत गर्ने कार्यमा सङ्लग्न निर्माण व्यवसायीहरु निर्माणस्थल छोडेर हिँडिसकेको बताएका हुन् ।