काठमाडौं। निर्माण व्यवसायी विकास परिषदले भूकम्प प्रभावितलाई ३० लाख रूपैयाँ रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पूनर्निर्माण र शैक्षिक सामग्रीका लागि सहयोग गर्ने भएको हो।
राहत र पूर्ननिर्माणका लागि २५ लाख र बिद्यालयमा शैक्षिक सामग्रीका लागि ५ लाख दिने निर्णय भएको बताइएको छ। निर्णय भएको रकम प्रधानमन्त्री दैविक प्रकोप सहायता कोषमा जम्मा हुनेछ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यान पुगेर फर्केलगतै मन्त्री ज्वालाले परिषदको बैठक बोलाएका हुन्। चिसो मौसमका कारण भूकम्प प्रभावित क्षेत्रको जनजिवन कष्टकर बन्दै गएपछि मन्त्री ज्वालाले राहत र पुर्नस्थापनामा जोड दिएका छन्। तीन पटकभन्दा बढी भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेका छन् ।